FLASH NEWS

समरजंग कम्पनीका तत्कालिन प्रमुखलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १८:४८ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं – ललिता निवास प्रकरणमा थुनामा रहेका रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालले उनको तर्फबाट दायर रिटमा बुधवार बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेका हुन् ।


तत्कालीन समरजंग कम्पनीका प्रमुख पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले असार १८ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश गरेको छ ।

निवेदकले २०६८ सालदेखि नै डिप्रेशन लगायत मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरेको रिपोर्ट पेश गरेका थिए । पोखरेलको स्वास्थ्य अवस्था र थुनामा नराखिकन अनुसन्धान गर्दा उनले अनुसन्धानमा प्रभाव पार्न सक्ने वा नसक्ने अवस्थाको ‘वस्तुनिष्ट विष्लेषण गर्न’ सर्वोच्चले जिल्ला अदालतलाई आदेश गरेको छ ।

‘अब निजलाई अनुसन्धानको लागि अपरिहार्यता देखाई थुनामै राख्न फेरि म्याद थप गर्न माग भई आएको अवस्थामा निजको स्वास्थ्य अवस्था तथा निजलाई थुनामा नराखी अनुसन्धान गर्दा मुद्दाको अनुसन्धानमा निजले प्रभाव पार्न सक्ने/नसक्ने सम्मका अवस्थाहरुको वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’, आदेशमा भनिएको छ ।

पोखरेल १९ वैशाख २०६९ देखि ५ कात्तिक २०७० सालसम्म उनी समरजंग कम्पनीको प्रमुख थिए । ललिता निवासको जग्गा त्यतिबेलासम्म समरजंग कम्पनी मातहत थियो । २०७० सालमा गुठी संस्थानले पशुपति टिकिन्छा गुठीको नामको जग्गामा दाबी लिन आउने सूचना निकालेको थियो । उनीमाथि मिलेमतो गरी दाबी लिन नगएको आरोप छ ।

बुधवार उनीसहित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।