FLASH NEWS

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बाबु पक्राउ


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार २०:५९ मा प्रकाशित १८९७ पाठक संख्या

धादिङ – मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।


धादिङको धुनिवेँशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।

त्यसैक्रमा १७ वर्षीय छोरीमाथि पटक-पटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताए ।

पटक-पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो ।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।

घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।