FLASH NEWS

सुन तस्करीमा सरकार आफूलाई बचाउने, अरुलाई फसाउने खेलमा : एमाले अध्यक्ष ओली


नेपाल आवाज १३ श्रावण २०८०, शनिबार १७:५३ मा प्रकाशित ११५९ पाठक संख्या

नेपालगन्ज – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताएका छन्  । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ,’ओलीले भने, ‘त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र !’


सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम गरिरहेको ओलीको आरोप छ । उनले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए । गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको आरोप लगाए ।

बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको बताए । ‘गठबन्धनका नाममा सबेले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ । अब एमालेको विकल्प छैन,’ अध्यक्ष ओलीले भने । ओलीले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको धारण राखे ।

एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउदै पार्टी बहुमत आउने गरि तयारी गर्न निर्देशन दिए। उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिहरुसँग सहमत हुने, बिकासको अभियानलाइ अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रशिक्षणमा १२ जिल्लाका वडाध्यक्ष, पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश र संघका सासंदलायतको सहभागिता छ ।