FLASH NEWS

डा. केसीद्वारा सत्याग्रहको घोषणा


नेपाल आवाज १५ श्रावण २०८०, सोमबार १५:३६ मा प्रकाशित १३२१ पाठक संख्या

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्  ।


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने सङ्गठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।

डा. केसीले भने, ‘दलीय कार्यकर्ता भर्ती केन्द्र बनेका राज्यका अरु नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षा सुधारमा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरूको सङ्गठित प्रयास भएको देखिन्छ ।’

डा. केसीले आयोगका सहअध्यक्ष समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियालाई साथ दिइरहेको आशंका उत्पन्न भएको बताए । स्वास्थ्य शिक्षाका विभिन्न विषयहरूमासीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरूले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरूलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशङ्का जन्माएको उनको भनाई छ ।