FLASH NEWS

साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल एक लाख धरौटीमा रिहा


नेपाल आवाज १५ श्रावण २०८०, सोमबार २१:५४ मा प्रकाशित १९१५ पाठक संख्या

विराटनगर – मोरङको विराटनगरमा साइकल चालकलाई कुटपिट गरी घिसार्ने व्यक्तिलाई धरौटीमा रिहा भएका छन् ।


जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगरका आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–४ दुध फारम चोकमा साइकल यात्रीलाई मुक्का प्रहार गरी बेहोस बनाएर ढालेपछि भेटवालले घिसार्दै सडक किनारमा ल्याएर छाडिदिएका थिए । पछि बेहोस अवस्थामै युवालाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो ।

भेटवालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालत मोरङले जनाएको छ । अर्का प्रतिवादी १७ वर्षीय किशोर भने फरार छन् ।

उनलाई पक्राउ गर्न अदालतबाट ३५ दिने म्याद जारी भएको छ । गत असार २० गते दुध फारम अगाडि कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कारमा सवार रहेका आयुस, तेह्रथूमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोसन कार्की र अर्का १७ वर्षीय एक युवकले साइकल चालक हलुवाईलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

उनीहरुमध्येका आयुस भेटवाल कारबाट दौडँदै ओर्ली उत्तरबाट दक्षिण आफ्नो घरतर्फ साइकलमा गइरहेको पवनलाई बिनाकारण मुक्काले प्रहार गर्दा उनी सडकमा ढली बेहोस भएका थिए।

त्यस अवस्थामा समेत खुट्टामा समाती अमानवीय शैलीमा सडकमा घिसारेको, आफूसँग साथमा कार हुँदा हुँदै पनि आफैंले कुटपिट गरी बेहोस अवस्थामा पुर्याएको गम्भीर घाइतेलाई उपचारमा लैजानु पर्नेमा सो नगरी ज्यान मर्न सक्ने अवस्थामा पुर्याई छाडी फरार भएको प्रहरीले जनाएको छ।