FLASH NEWS

राप्रपाको केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १०:३५ मा प्रकाशित १३०९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ।


राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने सहमति भएको हो।

काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो।

सोमबार उक्त भवनमा डोजर लगाउने महानगरको तयारी थियो। राप्रपाका नेता तथा कार्यकर्ताले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेका थिए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपा र महानगरसँग यस विषयमा छलफल गरेको थियो। छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले खाली गर्ने सहमति जुटेको हो।

राप्रपा कार्यालय रहेको घरको नक्सापास छैन। बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै महानगरले हटाउन लागेको हो।

राप्रपाले भने घर खाली गर्न ३५ दिन समय लाग्ने भन्दै सोमबार महानगरलाई लिखित पत्र नै बुझाएको थियो। २०६९ सालदेखि राप्रपाले धुम्बाराहीस्थित यो घरमा केन्द्रीय कार्यालय राखे पनि घर भने राप्रपाको नाममा छैन। दानमा पाएको जग्गामा राप्रपाले घर बनाएको थियो।

महानगरले अनुमतिबिनै राप्रपा कार्यालय रहेको घर बनेको भन्दै भत्काउने तयारी गरेको थियो।