FLASH NEWS

हाम्रा माग पूरा नभएसम्म प्रतिनिधि सभा बैठक बस्न सक्दैन: एमाले सचेतक बर्तौला


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १०:५७ मा प्रकाशित १५६७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना माग पूरा नभएसम्म प्रतिनिधि सभा बैठक बस्न नसक्ने बताएका छन् । उनले सय किलो सुन बरामद प्रकरणको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग आफूहरूले राखेको बताए ।


सचेतक बर्तौलाले सुन तस्कर जस्तो अवैधानिक काममा लागेको बताउँदै सरकारले आफ्नो अधिकार दूरुपयोग गरेको बताए । ‘हाम्रो माग भनेको सरकार तस्करमा लाग्यो, यसरी आफ्नो अधिकार दूरुपयोग गर्न पाइँदैन भन्ने हो,’ उनले भने, ‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ ।’ अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र नभई न्यायिक आयोग गठन गरेर छानबिन गर्नुपर्ने उनले बताए।

उनले एक क्विन्टल सुन तस्करी गर्न सरकारकै उच्च स्तरबाट संरक्षण भएको दाबी गर्दै विरोध गरेको बताए ।

यसै क्रममा,उनले अवैध सुन तस्करको सुई नेकपा माओवादीका नेतातिरै सोझिएको बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै सचेतक बर्तौलाले सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेतातिरै सोझिएको बताएका हुन् ।

पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बसउठ, नाता सम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ, उनले लेखेका छन्, छानबिन गर्ने/नगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुबिधा रहेन ।