FLASH NEWS

नयाँ सरकारमा दाबी गर्न कोशी प्रदेशका सभामुखले राजीनामा दिँदै


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार ११:०३ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौं –  कोशी प्रदेश सरकार गठन गर्न कठिन भएसँगै प्रदेश सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन कठिन भएपछि उनले आज राजीनामा दिने भएका हुन् ।


सभामुख गौतमले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउने भएका हुन् । प्रदेश प्रमुखले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न दिएको समय आज अपराह्न ५ बजे सकिँदै छ ।

गठबन्धनबाट यसअघिका कांग्रेस संसदीय दल नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । यसअघि सभामुखसहितको हस्ताक्षर गरेर उनी मुख्यमन्त्री नियुक्ति भएका थिए । तर, सर्वोच्च अदालतले बिहीबार उनको नियुक्ति खारेज गरिदिएको थियो ।

गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी कूल ४६ सांसद रहेका छन् । विपक्षी दलहरूसँग पनि कूल ४६ जना नै सांसद रहेका छन् । दुवै पक्षको बराबर सांसद भएपछि सभामुखले राजीनामा दिन लागेका हुन् ।

स्रोतका अनुसार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उनले राजीनामा दिन लागेका हुन् ।