FLASH NEWS

बढुवा भएका १६ डीएसपी र ७२ इन्स्पेक्टरलाई दर्ज्यानी चिह्न प्रदान


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार २०:१८ मा प्रकाशित १२२५ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीमा हालै बढुवा भएका ८८ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्।  प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।


नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका हुन्।

दर्ज्यानी चिह्न लगाउनेहरूमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना गरी कुल ८८ जना प्रहरी अधिकृतहरू रहेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी सङ्गठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिए।

राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति सङ्गठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै सङ्गठनको प्रतिष्ठामा आँच आउने गरी गैर व्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उनले बताए।