FLASH NEWS

सर्वसाधारण नागरिकलाई डर,धम्की दिएको आरोपमा जोरपाटीबाट पाँच जना पक्राउ


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार ११:३८ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिएको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मेलम्ची ६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा-६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत रहेका छन् ।

यस्तै, मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी-१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाले काठमाडौं उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको छ ।