FLASH NEWS

सुन तस्करी प्रकरणमा प्रहरीलाई अनुसन्धानबाट अलग राखिनु थप शंकास्पद: शेखर कोइराला


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार १२:०६ मा प्रकाशित ११२९ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीलाई अनुसन्धानबाट अलग राखिएकोमा थप आशंका उत्पन्न भएको बताएका छन् ।


बिहीबार नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताए ।

नेता कोइरालाले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’

नेता कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभागमात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरे । कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको बताए ।

सुन तस्करी सञ्जालमा माओवादीका शीर्ष तहका नेताहरू नै पर्न थालेपछि प्रधानमन्त्रीकै चाहनामा राजश्व अनुसन्धान विभागबाटै सबै छानबिन गर्न खोजिएको उनको दाबी छ ।

नेता कोइरालाले ललिता निवास,सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको बताए । ललिता निवास जग्गा प्रकरण र सुन काण्डको छानबिनमा नेताहरु नै तानिने भएपछि सामसुम पार्न खोजिएको उनको आरोप छ ।

कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? सुन काण्डमा संसद् अवरुद्ध गरिरहेको छ । संसद्मा कुरा राख्ने हो । संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ विपक्षी बुझ्न जरुरी छ ।’

कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए । कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुने बताए ।

कुनै इस्यु आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाको भनाई छ ।

उनले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गरे नेपालको भविष्य उज्वल रहेको बताए ।

नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भए पनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको बताए ।

‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ, यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ, हामीले कुनै केशलाई निष्कर्षसम्म पुर्‍याएको छैन,’ उनले भने, ‘किनभने ठूलो तहको सहभागिता हुन्छ, नेपालको भविष्य नभएको होइन्, भ्रष्टाचार हटाउने, सुशासन कायम, दण्डहिनताको अन्त्य, गर्न सक्यौँ भने नेपालको भविष्य उज्वल छ ।’

नेता कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गइरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए ।

‘देश अप्ठ्यारो र अराजकतातिर गइरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहिनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाइदिन्छौँ, अनि त्यो छुट्छ, जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन्, यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ, र गइरहेको पनि छ,’ उनले थपे ।