FLASH NEWS

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक: एमाले


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार १९:५९ मा प्रकाशित १३०३ पाठक संख्या

बुटवल – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति नै आवश्यक पर्ने बताएका छन् ।


बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकारको हात सफा छैन, यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ । त्यसैले सुन तस्करी प्रकरणको सही अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति बनाउनुको विकल्प छैन ।’

सरकारले बिहीबार (आजै) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति आवश्यक नरहेको जनाएको थियो ।

तर, प्रमुख प्रतिपक्षी एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै आएको छ । यसैलाई दोहो¥याउँदै नेता ज्ञवालीले उच्चस्तरीय छानविन समितिको विकल्प नरहेको बताएका हुन् ।

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएपनि सरकारले अनुसन्धान नगरेको उनको आरोप छ ।
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको भन्दै उनले अहिले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपरेको उल्लेख गरे ।

उनले भने, ‘इतिहासमै पहिलोपटक राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको छ, निर्माण व्यवसायीको काम पूरा भएको ८० अर्ब बढी भुक्तानी दिन सकेको छैन । तर, सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’