FLASH NEWS

सुन तस्करी प्रकरण छानबिनको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार १२:२८ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल बढि सुन तस्करी प्रकरण सेलाएको छैन । भन्सार पास भएर बाहिरिएको उक्त सुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।


एक क्वीन्टल सुन तस्करी प्रकरण संसद्मासमेत प्रवेश गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी नेकपा एमालेको छ । सोही माग राख्दै एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

एक क्वीन्टल सुन प्रकरणमा प्रहरीसँगको समन्वयमा राजश्व अनुसन्धान विभागको टोलीले १७ जनालाई पक्राउ गरेको छ । तर मुख्य अभियुक्त पक्राउ परिसकेका छैनन् ।

राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धान प्रभावकारी नभएको गुनासो र प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानविन समतिको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् ।

तस्कर समूहले अहिलेसम्म २ अर्बभन्दा बढिको सुन तस्करी गरेको निष्कर्ष राजश्व अनुसन्धान विभागले निकालेको छ । तर पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन् । त्यसैले प्रधानमन्त्री प्रचण्डले थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने तयार भएका हुन्।

बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच भएको गोप्य छलफलमा प्रधानमन्त्रीले छानबिनका लागि सीआईबीलाई जिम्मा दिन निर्देशन दिएको स्रोतले बतायो।

बैठकमा गृहमन्त्री, आइजीपी लगाएतले पनि तस्करीको छानबिनको जिम्मा सीआईबीलाई नै दिनुपर्ने धारणा राखेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डले तस्करीमा जो कोही भएपनि नछोड्न सम्बद्व निकायलाई निर्देशन दिएका पनि स्रोतले जानकारी दिएको छ ।

उनले माओवादीकै नेता भएपनि नछोड्न निर्देशन दिँदै यसमा सरकारको पूर्ण समर्थन रहने प्रतिवद्वता व्यक्त गरेका हुन् ।

‘यो अपराधमा प्रमाणले ज–जसलाई देखाउँछ, माओवादीका नेता वा अरु को–को पर्छ, अघि बढ्नुस् । सरकारबाट पूर्ण सहयोग रहन्छ,‘प्रधानमन्त्रीज्यू सय केजी सुन प्रकरणको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिनुपर्छ भन्नेमा कन्भिन्स हुनुहुन्छ, स्रोतले भन्यो, ‘अब राजस्व अनुसन्धान विभागले शुक्रबार पत्रचार गरेपछि थप स्पष्ट होला ।’

प्रधानमन्त्रीको निर्देशनसँगै अबको केही दिनमा यो प्रकरणको छानबिनको जिम्मा सीआईबीलाई दिने तयारी भइरहेको छ ।