FLASH NEWS

डेढ घण्टापछि झापा कारागारमा भएको हुलदङ्गा नियन्त्रणमा


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार १९:१५ मा प्रकाशित १६२७ पाठक संख्या

झापा – चौकीदारको सरुवाको विरोधामा भद्रपुरस्थित झापा जिल्ला कारागारमा भएको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ ।  कारागारभित्रको तनावपूर्णस्थिति डेढ घण्टापछि साम्य बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।


सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।

उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए।

कर्तव्य ज्यान मुद्दाका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका थिए।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।