FLASH NEWS

प्रधानमन्त्री प्रचण्डद्वारा उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल


नेपाल आवाज २० श्रावण २०८०, शनिबार २२:२५ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन् ।


सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरूको खोजीका लागि कूटनीतिक पहल भएको बताएका छन् ।

प्रचण्डले लेखेका छन् ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’

पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ ।