FLASH NEWS

ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार १०:५९ मा प्रकाशित १३९९ पाठक संख्या

काठमाडौं – ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।


केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको हो।

केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीका अनुसार उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको निवेदनका आधारमा अदालतले तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टक्ला र भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी भएपनि सार्वजनिक जीवनमा रहेका गच्छदार, जोशी र श्रेष्ठलाई आफै ब्युरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गरिने सीआईबी स्रोतले बतायो । अर्का आरोपित साह भने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा छन् ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्युरोले २० आरोपितलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

यस्तै, आइतबार नै सर्वोच्च अदालतले ललिता निवास सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्‍याउने गरी भएका निर्णयमा संलग्न तत्कालीन मन्त्रिपरिषद्का पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन बाटो खुलाएपछि सुरुवातमा यी चार विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदार विरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । २०७६ सालमा अख्तियारले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।