FLASH NEWS

संसद्‍को अवरोध हटाउन शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने सभामुख घिमिरेको अपेक्षा 


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार २१:३७ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडौं – सभामुख देवराज घिमिरेले संसद्‍को अवरोध हटाउने सम्बन्धमा मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा व्यक्त गरेका छन् । मंगलबार दिउँसो ३ बजे संसद्‍ बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति निस्कने घिमिरेले बताएका छन् । तर संसद्‍ अवरोध भइरहँदा जनताका आवाज रोकिएको भन्दै उनले सहमतिको विकल्प नरहेको बताए ।


‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’ सभामुख घिमिरेले सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको सभामुख घिमिरेले बताए । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले संसद् खुलाउने सम्बन्धमा आफूले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्य कायम गर्न पहल गर्दै आएको बताए । ‘म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं,’ सभामुख घिमिरेले भने ।

सोमबार बानेश्वरस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो । तर सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा एमालेका नेताहरूले अडान राखेपछि आजको बैठकमा सहमति जुट्न सकेको छैन । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने सरकार छानबिन समिति बनाउन तयार नभएपछि सरकारकै आग्रहमा बैठक रोकिएको बताएका छन् ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने माग गर्दै एमालेका सांसदहरूले संसद्‍ अवरोध गर्दा संसद्‍ बैठक स्थगित हुँदै आएको छ । मंगलबार भने संसद्‍ बैठक ३ बजेका लागि आह्वान गरिएको छ ।