FLASH NEWS

सुन प्रकरण बारे छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार १९:२७ मा प्रकाशित १४८३ पाठक संख्या

काठमाडौं – सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो।


मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरूले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराएका थिए। गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ।

एमाले सांसदहरूले सदनमा नारावाजी गरेपनि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर बुधबारसम्मका लागि बैठक स्थगीत गरे। त्यसअघि सदनमा सुन प्रकरणका बारेमा जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राज्यले गर्ने अनुसन्धानलाई विश्वास गर्नुपर्ने बताए।

उनले सुन सम्बन्धमा सीआईबीलाई नै छानबिनको अवसर दिइएको भन्दै ३५ दिनको समयमा सीआईबीले नसके नयाँ शिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने धारणा राखे। उनले सुन प्रकरणका विषयमा आफूले दिएको अभिव्यक्तिले कसैमाथि चोट पुगेको भए माफी माग्ने बताए।