FLASH NEWS

भ्रष्टाचारका काण्ड दिनप्रतिदिन बढ्दै गएकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त


नेपाल आवाज ३ पुष २०८०, मंगलवार १५:११ मा प्रकाशित १६७५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भ्रष्टाचारका काण्डहरू दिनप्रतिदिन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा आफूले सक्दो प्रयास गरिरहेको बताए।


प्रधानमन्त्री दाहालले आफू देशको सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरिरहेको जिकिर गरे।

आफूले चाहेजति काम गर्न नसकेको उनको भनाइ ।  ‘मलाई अरु केही गर्नु छैन।  र मैले जति चाहेको छु त्यति अझै गर्न सकेको छैन पाएको छैन भनेर पब्लिक्लीरुपमा भन्दै  आएको छु। मेरो यो पटकको आकांक्षा अझ गर्न सकेको छैन भन्ने चिन्ता छ,’प्रधानमन्त्री दाहालले भने,’अझ बढी भ्रष्टाचारमाथि हान्न मन छ मलाई। भूमाफियामाथि हान्न मन छ।’

नेपालको कुटनीतिक अवस्थालाई केन्द्रमा राखेर नयाँ ढंगले काम गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले राजनीतिक दल र नेतृत्वले देश विकास निर्माण र सुशासनका क्षेत्रमा काम गर्न नसकेको बताए।  यसको समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएको एक वर्षभित्र गरेका कामको निष्पक्ष छानबिन गरेर राष्ट्रका नाममा सम्बोधनको तयारीमा रहेको जानकारी दिए।

‘म प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ। एक वर्षमा गरेका कामको निष्पक्ष छानबिन गरेर राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा छु,’उनले भने।

प्रधानमन्त्री दाहालले सरकारप्रति जनताको आशा जगाउन आफू एकपटक फेरि अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भने,’जनताको आशा मर्‍यो भने देशका लागि दुर्भाग्य हुन्छ भनेर अब फेरि आशा जगाउने ढंगले  बल गर्दैछु।’