FLASH NEWS

वर्तमान सरकार रहेसम्म देशले दुःख मात्रै पाउँछ: विष्णु पौडेल


नेपाल आवाज ३ पुष २०८०, मंगलवार १५:५८ मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।


वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरूले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनी प्रश्न पनि गरे।

उनले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे।

वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो। उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याए।

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसद्को अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे।