FLASH NEWS

रास्वपाका सभापति रविले मागे पर्यटनमन्त्री सुदनको राजीनामा


नेपाल आवाज ५ पुष २०८०, बिहीबार १२:५७ मा प्रकाशित १९०९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् ।


मन्त्री किरातीले एक कार्यक्रममा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला लामिछानले सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीले उक्त अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।

मन्त्री किरातीले बुधबार एक कार्यक्रममा ‘कृष्चियन नमान्ने संबिधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति सार्वजनिक पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने खालको भएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत ध्यानाकर्षण गराएका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’