FLASH NEWS

भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औं स्थानमा


नेपाल आवाज १६ माघ २०८०, मंगलवार १३:०६ मा प्रकाशित ९१९ पाठक संख्या

काठमाडौं – नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।


अघिल्लो वर्ष सन् २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो । सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।