FLASH NEWS

त्रिभुवन आर्मी तेइसौँ आहा! रारा पोखरा गोल्डकपको फाइनलमा


नेपाल आवाज १८ माघ २०८०, बिहीबार २२:५९ मा प्रकाशित ९०१ पाठक संख्या

पोखरा – विभागीय टीम त्रिभुवन आर्मी पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगको छ ।


बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

आर्मी फाइनलमा पुगेको यो चौथो पटक हो । आर्मी २०६६, ०७२ र ०७५ को प्रतियोगितामा फाइनलमा पुगेको थियो । तर हालसम्म उपाधि जित्न सकेको छैन ।

आज भएको निकै रोमाञ्चक खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले कायम गरेका थिए । सो अग्रता २४ मिनेट टिक्यो ।

खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १–१ बराबरीमा सकियो ।

त्यसपछि अतिरिक्त समयमा खेल धकेलियो । खेलको ९९औँ मिनेटमा आर्मीका राशबहादुर मगरले गोल गर्दै आर्मीको जीतलाई सुनिश्चित बनाए । त्यसपछिको समयमा चर्चब्वाइजले गोल गर्न सकेन, खेल आर्मीलाई २-१ ले सुम्पियो ।

खेलमा आर्मीका बिमल पाण्डे म्यान अफ द म्याच घोषित भए । आर्मीका दिनेश हेन्जन  हालसम्म सर्वाधिक गोलकर्तामा कायम छन् । उनको नाममा ३ गोल पुगेको छ ।

आर्मीले उपाधिका लागि शनिबार पाँच पटकको उपाधि विजेता थ्रीस्टारको सामना गर्नेछ । स्मरण रहोस, थ्रीस्टारले पहिलो सेमिफाइनलतर्फ जावलाखेल युथ क्लबलाई हराउँदै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।