काठमाडौं – राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता बितरण अभियान सुरु गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सक्रिय सदस्यता लिए ।
सक्रिय सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए । आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको समेत उनले स्पष्ट पारे ।
देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो ।
थापाले भने, ‘हाम्रो तात्कालिन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने । यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं । साथै हामीले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ । यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ । र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ ।’
कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी ,सदस्य र जनबर्गिय संगठनका पदाधिकारीहरुलाइ सकृय सदस्यता वितरण गरिएको थियो । अब देशव्यापी रुपमा सकृय सदस्यता बितरण अभियान सुरु गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।