FLASH NEWS

प्रहरीको सरुवामा ‘शक्ति केन्द्र’को खुलेयाम हस्तक्षेप, बढुवा पनि अलपत्र


नेपाल आवाज २५ माघ २०८०, बिहीबार ११:५६ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं –  प्रहरी प्रधान कार्यालयले सरुवा अवधि पुगेका विभिन्न जिल्लाका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा निकाल्न सकिरहेको छैन । प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको छ ।


तर, दर्जनबढी जिल्ला प्रहरी प्रमुखले कमाण्ड गरेको १३ महिना बितिसक्दा पनि उनीहरूको सरुवा हुन नसकेको हो । समयमै सरुवा गर्न नसेकेको भनेर प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर आलोचित पनि हुन थालेका छन् ।

कुँवर आलोचित हुनुको पछाडि कारण भने राजनीतिक दबाब रहेको प्रष्ट छ । प्रक्रिया मिलाएर एसपीहरुको सरुवा गर्ने तयारीमा आईजीपी कुँवर छन् । तर, गृह मन्त्रालय र बालुवाटारले हस्तक्षेप गरेपछि कुँवरले सरुवाको प्रक्रिया अगाडि बढाउन नसकेका हुन् ।

प्रहरीभित्र हरेक दर्जाको बढुवामा शक्ति केन्द्रको हस्तक्षेप देखिन्छ । आईजीपी कुँवरको कार्यकालमा मात्र होइन, यसअघिका नेतृत्वको कार्यकालमा त झनै योभन्दा बढी राजनीतिक हस्तक्षेप हुने गरेको एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।

झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाका एसपीले कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ । उनीहरु सरुवा कुरेर बसिरहेका छन् ।

तर, उनीहरूको नियमित सरुवा रोकिएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सचिवलाय सदस्यका कारण एसपीको सरुवा अलपत्र परेको हो । गृहमन्त्रीकै कारण ढिलाइ भइरहेको ती प्रहरी अधिकृत बताउँछन् ।

एसपीसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकलाई दिइएको छ । तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप बढेको हो ।

प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सिर्जना भएपछि सरुवा नै अवरुद्ध भएको बताइन्छ । शक्तिकेन्द्र रिझाएर अधिकांश एसपीहरु ‘क’ श्रेणीको जिल्ला जान लागिपरेका छन् ।

त्यतिमात्र नभएर कतिपय एसपी यसअघि नै ‘क’ जिल्ला इन्चार्ज बसिसकेका छन् । आईजीपी कुँवरले बनाएको सरुवा मापदण्डमा ‘क’ बाट ‘क’ मा जान नपाइने व्यवस्था छ । तर, ‘क’ मा बसेर फेरी ‘क’ मै जान खोज्नेहरु पनि रहेकाले सरुवा अलपत्र बनेको हो ।

आईजीपी कुँवर मापदण्डअनुसार सरुवा गर्ने तयारीमा छन् । जस्तो यसअघि ‘ख’ मा बसेकालाई ‘क’ मा पठाउने र नयाँलाई पहिलो चरणमा ‘ख’ जिल्ला दिने अडानमा छन् । यो उपाय नै सबैभन्दा राम्रो रहेको भन्दै ब्याचीहरुले समेत कुँवरलाई सुझाव दिएको बताइन्छ ।

बढुवा पनि अलपत्र
नेपाल प्रहरीमा एसपीको पद रिक्त भएको २ महिना बढी भयो । तर, गृह मन्त्रालय र बालुवाटारको हस्तक्षेपका कारण प्रहरी प्रधान कार्यालयलाई एसपी बढुवा निकाल्न निकै हम्मे परेको छ । प्रक्रिया मिलाएर रिक्त रहेका भन्दा बढी पदमा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको बढुवा गरेर एसपीमा ल्याउने आईजीको तयारी छ । तर, गृहमन्त्रालयले पठाउनुपर्ने फाइल मन्त्रिपरिषदमा पठाएको छैन् ।

आईजीपी कुँवरले भरसक प्राविधिक तर्फका दरबन्दी मिलाएर बढुवा गर्ने तयारी गरेका छन् । बढुवाका लागि प्रतिस्पर्धी धेरै भएकाले तत्काल छान्न नसक्नु अर्को कारण पनि रहेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा गर्नुपर्ने ८ एसपीका लागि दर्जनौं डिएसपीहरु प्रतिस्पर्धामा छन् । एकै ब्याजमा भर्ना भएर आएका डिएसपीहरूको संख्या धेरै छ ।

बढुवा प्रक्रिया मिलाउनका लागि प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फका दुई दरबन्दी साधारण समूहतर्फ समायोजन गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । संगठनको नीतिअनुरुप काम गरेकालाई बढुवा गर्ने तयारीमा महानिरीक्षक कुँवर छन् । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सार्ने उनको तयारी छ । यसका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ ।

मन्त्रिपरिषदबाट निर्णय भएर आउनुपर्ने भएकाले यो प्रक्रियाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पनि पठाइसकेको छ । प्रहरी मुख्यालयले पठाएको प्रस्तावमाथि अहिले अध्यायन भइरहेको गृहका एक अधिकारीले बताए । आउने मन्त्रिपरिषदमा उक्त प्रस्ताव लैजाने गृहमन्त्रीको तयारी छ । एसपी बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चासो छ ।

बढुवाको तयारीमा रहेका डिएसपीहरूले पनि आफूलाई बढुवामा पार्नका लागि अनेक उपायहरु अपनाइरहेका छन् । मेरो डिएसपीलाई एसपीमा बढवा गरिदिनुपर्यो भनेर गृहमन्त्री समक्ष धाउने नेताहरूको संख्या नि धेरै छ । जति बढुवा रोकेर राख्यो उतिनै महानिरीक्षक कुँवर दवावमा पर्दै आएका छन् । प्रक्रिया अनुसार नै बढुवामा जाँदा प्रतिस्पर्धी धेरै छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले बढुवा प्रक्रियामा रहेकाहरू सबैले एकैसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका छन् । उनीहरू ०७२ साउन १ गते डिएसपीमा बढुवा भएका थिए । उनीहरूसँगैका केही डीएसपी गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डिएसपी तीन चरणमा बढुवा भएर एसपी बन्ने चरणमा छन् । – स्कूपखबरबाट