FLASH NEWS

माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा


नेपाल आवाज २९ माघ २०८०, सोमबार २२:५३ मा प्रकाशित ९०१ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले सार्वजनिक बिदा दिएका छन् ।


गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सर्वोच्चको निर्णयसँग संघीय सरकार बिदा नदिएपनि माओवादी केन्द्रले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा धमाधम बिदा दिइएको छ ।

गोरखाका गण्डकी, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र धार्चे गाउँपालिकाले ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिएको सूचना नै जारी गरेका छन् । यी पालिका प्रमुख माओवादी केन्द्रले जितेको थियो ।

माओवादीले नै जितेका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र शहिदलखन गाउँपालिकाले भने सोमबार अपराह्नसम्म बिदाको सूचना निकालेका छैनन्।

कालिकोटका पाँच स्थानीय तहले ‘जनयुद्ध दिवस’मा मंगलबार बिदा दिएका छन् । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, पतला गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । यी पालिका प्रमुख माओवादीले जितेका थिए ।

सल्यानको दार्मा गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’मा बिदा दिएको छ । माघ २८ गते उपाध्यक्ष जुना मल्ल चन्दले विज्ञप्ति निकालेर फागुन १ गते बिदा दिइएको उल्लेख गरेका छन् ।

त्यस्तै रोल्पाको माडी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ बिदा दिएको छ । रोल्पाकै रोल्प नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । यी दुवै पालिकाको प्रमुखमा माओवादी केन्द्रले नै जितेको थियो ।

दाङको बंगलाचुली गाउँपालिका, काभ्रेको चौंरी देउराली गाउँपालिका र धादिङको गजुरी गाउँपालिका पनि ‘जनयुद्ध दिवस’मा बिदा दिएको छ ।

माओवादीबाहेक अरू दलले जितेका पालिकामा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छैन ।