FLASH NEWS

पीडितको आँसुले शासकलाई पोल्छ,सात पुस्तासम्म असर गर्छ : दुर्गा प्रसाईँ


नेपाल आवाज २ फाल्गुन २०८०, बुधबार ०१:०८ मा प्रकाशित १४७७ पाठक संख्या
  • सुशील थापा

काठमाडौं – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंले मिटरब्याज पीडितहरुको आँसुले शासकहरुलाई पोल्ने उल्लेख गर्दै सात पुस्तासम्म यसले असर गर्ने बताएका छन्।


काठमाडौँको भृकृटीमण्डपमा महाअभियानको पहिलो वार्षिकोत्सव कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका लागि उपत्यकाका विभिन्न क्षेत्रबाट र्‍यालीसहित मानिसहरू राष्ट्रिय झण्डा बोकेर भृकुटीमण्डपमा भेला भएका थिए।

कार्यक्रममा बोल्दै प्रसाईंले राजतन्त्र फर्काउन पनि महाअभियान चलाइएको बताएका थिए। उनले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरे । प्रसाईंले गणतन्त्रका लागि आफू पनि लडेको तर यो व्यवस्थाले आफूलाई भिक्टिम बनाएको गुनासो गरे । यो राज्यबाट सबैभन्दा भिक्टिम भएको व्यक्ति आफू नै भएको प्रसाईंले बताए । ६८ सालमा आफूले सरकारबाट अनुमतिपत्र लिएर मेडिकल कलेज स्थापना गरेको तर अहिलेसम्म सम्बन्धन नपाएको गुनासो गरे । सम्बन्धनकै लागि आफू विगतमा प्रचण्ड र केपी ओलीको पछि लागेको स्वीकारोक्ति उनले व्यक्त गरे । ओली-प्रचण्डलाई मार्सी भात खुवाएर पनि केही हात नपरेको र उल्टै राज्यबाट आफू भिक्टिम बनेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ । उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’

महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह भने सहभागी भएनन् । उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी हुन नसकेको सचिवालयको भनाइ छ।

प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै देशका विभिन्न क्षेत्रका मानिसलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने गरेका छन् ।

भृकुटीमण्डपमा दियो बालेर र शान्तिको प्रतिक परेवा उडाएर महाअभियानको पहिलो वार्षिकोत्सव सुरु गरेको कार्यक्रममा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीसहित एउटा विशेष समुदायका विभिन्न व्यापारिक ग्रुपको नाम लिएर देश डुबाउन उनीहरु संलग्न रहेको आरोप लगाएको भिडियो पनि सार्वजनिक गरिएको थियो।

प्रसाईंले राजसंस्था फर्काउने उद्घोषसहित संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने,कैदी–बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आन्दोलनले गर्दै आएका छन् ।

राजधानीको भृकुटीमण्डपमा दुबोको माला लगाएर आएका प्रसाईँले बम्बईको कोठीबाट बेचिएका चेलीबेटीलाई बचाउने प्रधानमन्त्री यो देशमा चाहिएको बताए। तस्करहरुलाई घुँडा भाँचेर अस्पतालमा राख्नुपर्ने पनि उनले बताए। आफ्नो अभियानले हारे नेपालीहरुले सडकमा पुग्नुपर्ने दाबी उनले गरे।

उनले ७० प्रतिशत काठमाडौँका दोकान बन्द हुने भनी आफूले भनेको पूरा भएको पनि बताए। बैँकहरु मिटर ब्याजमा परिणत भएको आरोप पनि उनको थियो। ‘सर्वहारा मान्छे र भुइँमान्छेको आवाज बाहिर ल्याउँदा कालो मोसो दल्छौ भनी जति दल्छौ दल’ भनी उनले युवासंघलाई चुनौती पनि दिए।

यसैबीच प्रसाईंको महाअभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि नैतिक समर्थन गरेको छ। प्रसाईंको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको छ ।

राप्रपाले पनि राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि फागुनदेखि आन्दोलन गर्ने गत पुस ३ मा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरेको थियो। आन्दोलन सुरू गर्नुपूर्व अध्यक्ष लिङ्देनले प्रसाईं पक्षसँग संवाद गर्न वार्ता समिति बनाएका हुन् । राप्रपाले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलन अपरिहार्य रहेको जनाएको छ ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि अहिलेको अवस्था (गणतन्त्र)लाई उल्टाउन ‘राष्ट्रवादी शक्तिहरू’ एक ठाउँमा आउनुपर्ने बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना तथा मिटरब्याज,लघुवित्त र सहकारी पिडितको पक्षमा हुने संघर्षमा राप्रपा नेपालको साथ र एक्यवद्धता रहने जनाएका छन् । यस्तै केही हिन्दुवादी संघसंगठन र केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने बताउँदै आएका छन् ।

यता, प्रसाईको कार्यक्रमलाई भारत र चीनसहितका अन्तर्राष्ट्रिय शक्तिले चासो दिन थाले उनको निकट स्रोतले बताउछन् । भारत र चीनले मात्र होइन, प्रसाईको महाअभियानलाई युरोपियन युनियन, अमेरिका र मध्यपुर्वका देशहरुले महत्व दिएर हेर्ने थाले प्रसाई स्रोतको दावी छ ।  अन्तर्राष्ट्रिय शक्तिले नयाँ र उदयमान शक्तिका रुपमा प्रसाईको जनप्रदर्शनलाई लिएको उनको सचिवालाय स्रोतको दावी छ । प्रसाईले राष्ट्रवादी, राष्ट्र, निमुखा, गरिब र भुँइमान्छेका लागि आन्दोलन गर्दै आएका छन्। उनको यो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको प्रसाईको दावी छ । अहिले जनताले कुन पार्टी कस्तो भनेर थाहा पाइसकेको प्रसाईले बताएका छन्। उनले पार्टीभन्दा ठुलो देश भएका कारण पनि आफ्नो आन्दोलनमा जनताको साथ र समर्थन बढ्दै गएको बताका छन्। आफुव्यक्तिको पछाडीभन्दा देश र जनताका लागि अन्तिम लडाईं लडिरहेको उनले बताए। फागुन ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए। प्रसाईको आन्दोलनले नेपालमा राजनीतिक स्थीति परिवर्तन हुने समेत विलेश्ण भइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले समेत उनको कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेर्देछन्।

त्यसो त दुर्गा प्रसाईं एक्लैले व्यवस्था नै परिवर्तन गर्ने धम्की दिन सक्ने अवस्था नरहेको गणतन्त्रवादी नेताहरुको बुझाइ छ । अगाडि प्रसाईं देखिए पनि यसको पर्दा पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहको लगानी र योजना रहेको धेरैको बुझाइ छ । त्यसैले त हुनसक्छ प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सत्तारुढ दलका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलक्षित अभिव्यक्ति पनि दिइरहेका छन् । उनीहरुले राजनीति गर्ने भए पार्टी खोल्न र मैदानमा आउन चेतावनी दिइसकेका छन् ।

प्रमुख दलका नेताहरुबिच पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरहरुले सामान्य कमजोरीमा खेल्न खोजेको तथा पूर्वराजा शाहले राजाकै हैसियतमा आफ्ना गतिविधि गर्न थालेर जनतामा भ्रम छर्न खोजेको परिवर्तन पक्षधरहरुको बुझाइ छ ।

उता,पूर्वराजा शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताएका छन् । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ उनले भने , ‘नेपालीहरुको सुख–दु:ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’ अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने पूर्वराजा शाहको भनाइ छ । आफू मात्र सही,आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै  हामी सबै एक ठाउँमा उभिनु पर्ने बेला आएको उनले बताए ।