FLASH NEWS

मामाघर अनाथालयले लगाएको महायज्ञको सबै रकम बाल अनाथहरुको सेवामा


नेपाल आवाज २ फाल्गुन २०८०, बुधबार १९:१९ मा प्रकाशित ५८०३ पाठक संख्या

ललितपुर – मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टरले गत भाद्र २० देखि भाद्र ३० गते सम्म बाडेगाउँ , ललितपुरमा संचालन गरेको ललितपुर, गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहाँसिक श्रीमदभागवत विराट ज्ञान महायज्ञ – २०८० को आय-ब्यय विवरण सार्वजनिक भएको छ ।


यसै आश्रममा केहिदिन अघि जाजरकोट भुकम्पमा परि अनाथ भएका ३० जना बालबालिकाहरु ल्याएर राखिएको थियो जुन समाचार हामीले प्रकाशित पनि गरेका थियौं ।

आश्रममा बालक तथा बालिकाहरुका लागि बेग्लाबेग्लै भवनको ब्यवस्था गरिएको छ । आश्रम पूर्ण रुपमा निशुल्क रहेको तथा अहिलेसम्म कतैबाट सहयोग प्राप्त नभएपनि गुरु आफैंले भागवत वाचन गर्दा उठेको रकमबाट संचालन गरिरहेका छन् ।

कम्तिमा नेपालभरिबाट १००० जनाभन्दा बढी बालबालिका राख्ने लक्ष लिएका गुरुको आश्रममा यतिखेर १०० जना बालबालिका रहेका छन् । तर, यज्ञ अनुसार आश्रम सहयोगको लागि रकम उठ्न नसकेको कारण यज्ञको ब्यय बढी देखिएको छ ।

आज यसै आश्रमका संरक्षक बालयोगेश्वर बिजयमुर्ती महाराजले एक पत्रकार सम्मेलन गरि आयब्ययको विवरण सार्वजनिक गरेका हुन् ।

२०८१ श्रावणमा पशुपतिनाथमा अर्को विशाल एतिहाँसिक महायज्ञको पनि तयारी गरिरहेका गुरुले सार्वजनिक गरेका खर्च विवरण निम्न अनुसार रहेको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रम अवधीभर रशिद, जिन्सी,नगद लगायत सहयोग बापत आएका रकम मध्ये ६८ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ संकलन भएको छ । विभिन्न संस्थाबाट आउन बाँकी रकम ७ लाख ६१ हजार ७ सय ३४ रहेको छ । जम्मा खर्च १ करोड ५० लाख ३६ हजार ४ सय ५६ रुपैयाँ भएको तथा यतिखेर आर्थिक भार लगभग ८१ लाख ४२ हजार ६ सय ५९ रुपैयाँ रहेको छ ।

यज्ञमा आय भन्दा ब्यय बढि भएपनि यज्ञबाट उठेको रकम एक रुपैयाँ पनि ब्ययमा नलगाई सबै भार आफैं बोक्ने घोषणा गुरुले गरेका छन् ।

कार्यक्रम भित्र नै करिब रु ३० लाख वार्ड अधक्षहरुको समिती बनाई बैंकमा जम्मा गरिईसकिएको छ भने २० लाख रुपैयाँ भने आश्रमको खातामा जम्मा भएको छ जस्लाई आश्रम निर्माणमा लगाईने छ । बाँकी १८ लाख ९३ हजार ७ सय ८७ रकम भने हाल रहेको आश्रमको सामान खरिद गरिएको छ ।

यसरी गुरुले यज्ञमा उठेको एक रुपैयाँ रकम पनि खर्चमा नलगाई सबै ब्यय आफैं ब्यहोरी सबै आयलाई आश्रममै लगाएका छन् ।

उठेको सम्पूर्ण रकम अब बालआश्रम निर्माणमा नै लगाउने घोषणा गरेका गुरुलाई आश्रम निर्माणको लागि जग्गा उपलब्ध गराउने जिम्मा भने स्थानिय निकायले लिने भएको छ । आश्रमका तर्फबाट बिजयमुर्ती महाराजले सबै निर्माण लगायत ब्यवस्थापनको जिम्मा लिएका छन् । सो बापत गुरुले आश्रमको नाममा उठेको सबै रकम बैंकमा डिपोजिट समेत गरिसकिएको तथा एक रुपैयाँ पनि यज्ञको खर्चमा नलगाईएको जानकारी दिएका छन् ।