काठमाडौं – मनकामना सेकेण्डरी स्कुल कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटी र जेम्स स्कुल धापाखेलबीचको प्रतिस्पर्धात्मक खेलमा मनकामना सेकेण्डरी स्कुल ३–२ को गोल अन्तरले विजयी भएको हो ।
विजयी मनकामना सेकेण्डरीको तर्फबाट सुनिल डंगोल, अनिस डंगोल र सनिल मगरले समान १-१ गोल गरेका थिए । प्रतियोगितामा मनकामनाका विवेक लामिछाने उत्कृष्ठ खेलाडी चुनिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार क्वाटरफाइनल चरणका ३ खेल हुनेछन् । जहाँ नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीबीच दिनको पहिलो खेल हुनेछ ।
यसैगरी दोश्रो खेलमा बिहीबार नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध नेपाल पुलिस स्कुल, साँगा, काभ्रेबीच खेल हुने तालिका रहेको छ । बिहीबार नै सैनिक आवासीय महाविद्यालय, सल्लाघारी विरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ ।