FLASH NEWS

चितवन आएका पूर्वराजा ज्ञानेन्द्रले गरे देवघाटको भ्रमण (तस्बिरमा हेर्नुहोस्)


नेपाल आवाज ३ फाल्गुन २०८०, बिहीबार ००:३८ मा प्रकाशित १२९१ पाठक संख्या
  • सुशील थापा

चितवन –  विगत ४ दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन् । परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन /स्नान गरेका हुन् ।


शाह डुंगा चढेर कालिगण्डकी पुगेका थिए । उनको स्वागतमा ९ जना कन्याहरुले स्वस्ती वाचन गरेका थिए । पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डेले गरेका थिए ।

पूर्वराजा परिवारका सदस्य देवघाट धाम पुग्दा थुप्रै संख्यामा राष्ट्रवादी,राजावादी, राजभक्त तथा उनका शुभेच्छुकहरु स्वागत गर्न भेला भएका थिए । उनीहरुले ‘राजा आउँ देश बचाउँ’,’हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’ सम्मका नारा लगाएका थिए ।

पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता २८ माघमा चितवन भ्रमणका लागि आएका शाह पटिहानीको सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर,धार्मिकस्थल तथा पर्यटकीय स्थलहरुको भ्रमणमा व्यस्त छन् । उनी मंगलबार भने सौराहा पुगेका थिए ।

गत बर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए । चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

आगामी फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको रहेको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने शाहको सचिवालयले स्रोतले बताइएको छ ।