FLASH NEWS

प्रहरी कर्मचारी समायोजन समिति गठन, गृहका सहसचिव भट्टराई संयोजक


नेपाल आवाज ४ फाल्गुन २०८०, शुक्रबार २३:३३ मा प्रकाशित ७७५ पाठक संख्या

काठमाडौं – गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखकाे जिम्मेवारी सम्हालिरहेका सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको हो ।


मन्त्रालयमा अहिले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी खाली रहेको छ । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएपछि उक्त पद रिक्त रहेको हो ।

यद्यपि सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव नारायणप्रसाद भट्टराईले नै प्रशासन महाशाखाको काम सम्हालिरहेकाले अहिले उनैले संयोजकको भूमिका निर्वाह गरिरहेका छन् ।

समितिको सह-संयोजकको जिम्मेवारीमा मन्त्रालयकै सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् । समितिको सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्ष (डीआईजी), मन्त्रालयका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका उपसचिव रामबहादुर शाही सदस्य सचिव रहेका छन् ।
प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको मन्त्रालयले जनाएको छ ।