FLASH NEWS

‘सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भयो’ : केपी शर्मा ओली


नेपाल आवाज ८ फाल्गुन २०८०, मंगलवार १५:०२ मा प्रकाशित ७४५ पाठक संख्या

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रूपमा असफल भएको दाबी गरेका हुन् ।

‘मैले त एक वर्षको समीक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोसिस गर्छु, सप्रिन्छु आदि । केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो । अरु केही छैन । सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिबीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ,’ उनले भने ।

मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सरकारको एकमात्रै एजेन्डा एमालेको विरोध गर्नु रहेको पनि बताए । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे ।