FLASH NEWS

नेपाल पुलिस स्कुलले सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी हात पार्न सफल


नेपाल आवाज ८ फाल्गुन २०८०, मंगलवार २०:४२ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं – नेपाल एपीएफ स्कुल कीर्तिपुरको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८० सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) लाई पराजीत गरी नेपाल पुलिस स्कुल साँगाले सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी हात पार्न सफल भएको हो ।

३० -३० मिनेट गरी ६० मिनेटको समय अवधिमा खेलाइएको उक्त फाईनल खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसके पश्चात ट्राईबेकरमा ६-५ गोल अन्तरले नेपाल पुलिस स्कुल साँगा विजयी भई नगद रु ३०,००० ।- रनिङ्ग ट्रफी विजेता मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नेपाल एपीएफ स्कुल कीर्तिपुरले नगद रु २०,००० ।- उपविजेता ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

विजयी खेलाडी तथा विद्यालयहरुलाई प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले मार्च पाष्ट, कराँते र तेक्वान्दोको कला प्रदर्शन, मास पि.टी. तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

आज भएको खेलमा नेपाल पुलिस स्कुल साँगाका खेलाडी दिप्सन परियार म्यानअफ दि म्याच र प्रतियोगिता अवधिभरकै सर्वोत्कृष्ट गोलकिपर समेत बन्न सफल भएका छन् भने विधागत रुपमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पा, सर्वाधिक गोलकर्ता सैनिक आवासीय महाविद्यालयका डिग विजय शाही, अनुशासित टिम सैनिक आवासीय महाविद्यालय सल्लाघारी बन्न सफल भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट निर्देशन सम्बोधन, विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य, विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले खेल प्रतिवेदन प्रस्तुत गर्नुका साथै मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमज्यूद्धारा प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धारा प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो।