FLASH NEWS

प्रधानमन्त्री ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र पेश गर्दै राप्रपा,देशैभर दबाबमूलक प्रदर्शन


नेपाल आवाज ९ फाल्गुन २०८०, बुधबार ०९:३१ मा प्रकाशित ७०८१ पाठक संख्या

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्न लागेको छ । ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने र त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ । यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्नेलगायतका विषय पनि उल्लेख छ ।

राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ । साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।

राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।

आन्दोलन अघि बढ्दै जाँदा जनताले साथ दिएमा र आन्दोलन बढेर निर्णायक स्वरुप लिँदै जाँदा प्रतिनिधिसभाका १४ र प्रदेश सभाका २८ जना फिर्ता हुने लगायतका निर्णय लिन तयार रहेको पनि अध्यक्षमा राजेन्द्र लिङदेनले नेपालआवाजसँग बताएका छन्।