FLASH NEWS

राप्रपा अध्यक्ष लिङदेन भन्छन्-‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप’


नेपाल आवाज ९ फाल्गुन २०८०, बुधबार १९:२३ मा प्रकाशित ८३५ पाठक संख्या

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताएका छन्।


मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उनको जिकिर थियो।

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्‍यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिए।

उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शिर्ष नेताहरुलाई सचेत गराए।

अध्यक्ष लिङदेनले भने ‘अब गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटो असफल भइसक्यो। तपाईहरुले अवलम्वन गरेको मार्गचित्रबाट देशलाई जब्बरजस्त अगाडि बढाउन चाहनु भयो भने, त्यो दुष्पप्रयास गर्नुभयो भने देशले दुर्घटना व्यहोर्ने अवश्यम्भावी छ।’

उनले भने, ‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र दिएका छौँ र औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेका छौँ। त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ। देशको स्थिति यो अवस्थामा पुग्यो कि अब यो यहीँ रहिराख्न सक्दैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन। अब देश यहीँ पनि बसिरहन सक्दैन। अब नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ। सबैको स्थान होस्, सबैको सहभागिता होस्। देशले नयाँ बाटो लिओस्। अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ। धर्मान्तरणलाई निषेध गर्नुपर्छ। अहिले जनप्रतिनिधिहरुको संख्या यति ठूलो रुपमा छ कि देशको अर्थतन्त्रले त्यसलाई धान्नै सक्दैन। जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौती हुनुपर्छ।’

उनले थपे, ‘त्यसमा सबैभन्दा पहिला प्रदेश तह खारेज हुनुपर्छ। केन्द्र र बलियो स्थानीय तह बन्नुपर्छ। बैंक तथा वित्तीय संस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका छौँ। बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ। प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभएको छ। ललितानिवास जग्गा प्रकरण, सुन काण्डको कुरा होस्, नक्कली भूटानी शरणार्थी प्रकरणको कुरा होस्, बाइडबडीलगायतका काण्डहरुको पुनः र पूर्ण छानबिनको कुरा उठाएका छौँ। हामीले यो आन्दोलनलाई सशक्त रुपमा लैजान्छौँ र सरकारले यसलाई मागको रुपमा मात्रै लियो भने र राप्रपका माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै विद्रोहसम्म जानसक्छ।’

अध्यक्ष लिङदेनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए।