FLASH NEWS

काठमाडौँ महानगर क्षेत्रमा प्लास्टिकका फूल प्रयोग गरे कारबाही


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार १३:४५ मा प्रकाशित ८८९ पाठक संख्या

काठमाडौँ – गत साउनदेखि काठमाडौँ महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ।


अब अनुगमन गर्ने र प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो। व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ’, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने।

यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अटेर गरे प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताए।

प्लास्टिकजन्य वस्तुका कारण सिर्जित फोहर घटाउन तथा वातावरण स्वच्छ बनाउन भन्दै महानगरपालिकाले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी बताए।

‘सामान्यतया ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन्। यसलाई कि जलाइन्छ कि वातावरणमा फालिन्छ वा फोहरको पोको बनाएर बाहिर निकालिन्छ। यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ’, पाण्डेले भने।

स्रोतबाटै वर्गीकरण गरी कम्पोस्ट मल बनाइने 

काठमाडाैँ महानगरपालिकाले फोहरको स्रातेबाटै वर्गीकरण गरी कम्पोस्ट मल बनाउन थालेको छ। ३२ वटा वडा रहेको महानगरपालिकाले वडा नं २७ बाट सङ्कलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहर टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ गरेको महानगरपालिकाको वातावरण विभागले जनाएको छ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहरलाई छुट्टै सङ्कलन र व्यवस्थापन गर्ने गरिएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण थालनी वडा नं २७ बाट गरिएको हो। आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ।

वडा नं २७ को फोहर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताए। उनले सङ्कलित फोहरलाई पाइल (सङ्कलन गरिएका फोहरका थुप्रो) गर्न थालिएको उल्लेख गर्दै अहिलेसम्ममा चारवटा पाइल तयार भइसकेको जानकारी दिए।