FLASH NEWS

मिटरब्याज पीडितका समस्या समाधान नगरे संसद अवरुद्ध पार्ने लिङ्देनको चेतावनी


नेपाल आवाज १३ फाल्गुन २०८०, आईतवार २०:१७ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौँ – सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ।


आइतबार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।

उनले सरकारले संसद बस्नुभन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे। उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गरे।

उनले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिए। उनले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफै सडक आन्दोलनमा आएर साथ दिने बताए। उनले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताए।

उनले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न नसक्ने बताए। उनले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताए।

अध्यक्ष लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गरे। उनले मिटरब्याजी पीडितको न्याया मार्च र हिँडाइले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको उल्लेख गरे।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको दाबी गरे। अध्यक्ष लिङ्देनले गरिब जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरे।

उनले मिटरब्याजी समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए।