तलको लेख एकले अर्कोलाई भन्ने गरेका र लगाउने गरेका आरोप , मिडियामा प्रकाशित विषय तथा हामीलाई प्राप्त सूचना तथा जानकारीलाई आधार बनाई तयार गरिएको छ।
लेखक : संजिव न्यौपाने
“वाद” भन्ने शब्द नै अचम्मको छ। “वाद ” को अर्थ हुन्छ ” एक पक्षीय ” । म यो ” वादी ” हुँ भन्नुको अर्थ हुन्छ म अर्को कुनै ” वाद ” को विपक्षी हुँ। एकातर्फ पूर्वराजा ज्ञानेन्द्र शाहले सधैं सबै पक्षलाई सहमत बनाएर लैजाने कुरा गर्छन् भने अर्कोतर्फ उनै पूर्वराजाका समर्थकहरु आफूलाई ” राजावादी ” भन्दै अर्को पक्षलाई ” दुश्मन ” बनाईहाल्छन्। जब–जब पूर्वराजाले राजा बन्ने सपना देख्छन् वा त्यस गतिविधिमा सामेल भएको महशुस यहि ” वादी ” हरुलाई हुनेगर्छ त्यतिखेर यहि ” वादी ” हरु एक–अर्कोलाई सत्तोसराप गर्न थाल्छन् र बेग्ला–बेग्लै अभियान सुरु गर्न थाल्छन्।
यहि अवस्थालाई देखेर पूर्वराजा ज्ञानेन्द्रले गत महिना सबै ” वादी ” हरुलाई एकसाथ सिमरामा बोलाई एक आपसमा मिल्नको लागि संदेश दिए तर त्यो सन्देशको मर्म विपरित ” वादी ” हरुको बेग्ला–बेग्लै कार्यक्रम अहिले पनि चलिरहेकै छ। यी “वादी ” हरुलाई लाग्छ , रिपोर्टर्स क्लबमा गएर पत्रकार सम्मेलन गरियो भने वा युट्युबमा गएर ठूलो र चर्को स्वर बोलियो भने पक्का एक नम्बरको ” वादी ” बनिन्छ र राजाको आँखामा परिन्छ । तर यि पात्रहरु सबैको बेलुकाको काम भनेको कति भ्युज आयो ? भन्दै भ्युज गन्ने मात्र हो। यिनको भिडन्त आफू चर्चित बन्ने र आफैं बन्ने बाहेक अरु हुँदै हैन।
यहि ” वादी ” हरुमा दलगत रुपमा लागेका कमल थापा र राजेन्द्र लिङ्ग्देनकै त मनमुटु मिलेको छैन भने दलबिहिन भएर लागेका टुक्रे अभियानहरुको मनमुटु कसरि मिलोस ?
यहाँ सबैभन्दा अचम्मका राजावादी बन्न आएका नयाँ अनुहार ” दुर्गा प्रसाई ” अर्कोतर्फ बसेर घरि ” राजा को बन्छ मलाई थाहा छैन ? ” भन्छन् घरि ” ज्ञानेन्द्र नै हुन् अबका राजा भन्छन्। ” प्रसाई जस्तै अस्थिर व्यक्तिलाई बोकेर त कतै पूर्वराजाले राजा बन्ने सपना देखिरहेका छैनन् ? भन्ने प्रश्नले घरि–घरि यिनै ” वादी ” हरुलाई नै फेरी झस्काउने गर्छ।
” वादी ” हरु झन् यति अस्थिर देखिन्छन् कि घरि मिति तोकेर युट्युबमा अब चिन र रुस मिलिहाल्यो अब राजा फर्कियो भन्दै अन्तर्वार्ता दिँदै गरेका देखिन्छन् घरि इन्डियाले राजा फर्काईदिन्छ भन्दै चिच्याईरहेका भेटिन्छन। कहिले ओलीले राजा फर्काईदिन्छन भन्दै नारायणहिटी अघि लाईन लागि ओलीको सेनाको संख्या बढाउन पुगेका ” वादी ” हरुलाई ओलीले त्यहिँबाट दनक दिएर पठाए भने यतिखेर त्यहि राप्रपासंग तालमेल गरि जितेका ओलीले पूर्वराजालाई ” कुशका राजा ” संग तुलना गरि राप्रपालाई पनि उल्टो हात देखाईदिए।
यति हुँदा पनि ” वादी ” हरुको चेत खुलेको छैन र यतिखेर माओवादी अधक्ष प्रचण्डले राजा फर्काईदिन्छन् भन्ने चेत बोकेर कोहि प्रचण्डलाई नै मागपत्र बुझाउन पुगेको देखिन्छ भने कोहि प्रचण्डकै निकट दुर्गा प्रसाईको शरणमा लौ न राजा फर्काईदेउ भन्दै हारगुहार गर्न पुगेको देखिन्छ। उता प्रसाई भने आफैंलाई सबैभन्दा कट्टर र ठूलो ” वादी ” मान्दै आफूलाई ” कमाण्डर ” र ” नम्बर १ ” मा राखेर अरुलाई २,३,४ को लिस्टमा राख्दै लिस्ट समेत सार्वजनिक गरिदिन्छन्।
आगामी श्रावणमा आफूलाई ” प्रधानमन्त्री ” घोषणा गरेका प्रसाईले राजा फर्काएर प्रधानमन्त्री बनेर देखाउलान या गणराज्यको प्रधानमन्त्री बन्ने हुन् ? त्यो कुरा त उनैको कार्यक्रममा आएर मन्चमा हिन्दि भाषण ठोक्ने एपोलो हस्पिटलका गोप्य व्यक्तिलाई नै थाहा होला। खैर ! त्यतातर्फ अहिले नजाउँ।
अर्का व्यक्ति छन् ” वादी ” का सुप्रिमो कमाण्डर। पूर्वमन्त्री समेत रहेका उनि आफूलाई स्वच्छ छवि भएको घोषणा गरिरहेका भेटिन्छन् तर उनको पनि विगत हेर्दा मन्त्रि पद पाउनैका लागि दल परिवर्तन गरि–गरि छोरा समेतलाई मन्त्रि बनाउन भ्याएको इतिहाँस साक्षी राखेर हेर्ने हो भने पद र सत्ताको लागि मुद्दामोह त्याग गर्नसक्ने व्यक्तिको रुपमा इतिहाँसले उनको पनि चित्रण गरिसकेको छ। मोहको यहि एउटा दुर्गुण बाहेक उनको अरु खासै दुर्गुण भेटिन्न भनेर उनको चित्रण उनैका फरक अभियानका ” वादी ” हरुले गर्ने गर्छन्। उनको पनि संघठन भने देशव्यापी बनिसकेको छ र उनको उमेर तथा बौद्धिकताको कदर भने स्वयं पूर्वराजाले समेतले गर्ने गर्छन्।
अहिले सांसद र विगतमा मन्त्रि / उपप्रधानमन्त्री समेत बनाउन भ्याएको दल ” राप्रपा ” सिट , समर्थन र संघठनको हिसाबले सबैभन्दा ठूलो शक्ति मान्न सकिएला तर पार्टीभित्रको चिन्तन र कार्यशैली हेर्दा यसबाट पनि कुनै आश गर्न सकिन्न भनेर सबै ” वादी ” निराश हुन थालेका छन्। पार्टि भित्र नै नेतृत्वबिचको विवाद अनि नयाँ अनुहारलाई पदमा देख्न नचाहने ” पञ्चे शैली ” रहेको दलमा प्रतिस्पर्धा गर्न नयाँ अनुहारलाई कति गारो छ ? भन्ने कुराहरु दलभित्र नै सुनिन्छ। नाममा ” नविन राप्रपा ” लेखिएको दलमा ” नविन शैली ” छ वा छैन ? त्यो भने खोजीकै पाटो हो।
” नविन राप्रपा ” को उद्देश्य राजा फर्काउनु हैन बरु आफू मन्त्रि बन्नु , प्रदेश सभामुख बन्नु , प्रदेश मुख्यमन्त्री बन्नु मात्र हो भनेर राप्रपालाई आरोप लागिरहेको हुन्छ र त्यो आरोपलाई जसरि पनि पुष्टि गर्नुपर्यो भन्दै राप्रपा आफैं लागिरहेको पनि हुन्छ। त्यसैले त होला सायद ! पूर्वराजालाई विकल्पको रुपमा ” विवादित प्रसाई ” रोज्नुपरेको।
राप्रपाभित्र फरक मत राखेर आन्दोलन गर्नुपर्छ भन्ने धवल शमशेर राणाले पार्टीभित्र रहेको विभागको विकल्पमा ” आन्दोलन परिचालन समिति ” बनाउनु वा ऋषिबाबु परियारहरु राप्रपा छु भनेर एकातिर भन्दै फेरी अर्कोतिर भाग्दै र उफ्रिदै दुर्गा प्रसाईको अभियानमा पुग्नुको दृश्य होस् , यी सबैले प्रमाणित गरिरहेका छन् कि राप्रपाभित्र पनि उही अस्थिर र एक–अर्कालाई सक्ने प्रवृति हावी छ। त्यसो त , बरिष्ठ उपाधक्ष रविन्द्र मिश्रले वसन्त पंचमी र भ्यालेन्टाइन डे एकैदिन पर्दा प्रेम कविता लेख्दै हिन्दुराष्ट्र फर्काउने भाषण दिनुले पनि राप्रपाको नारा ! के हो यो पारा ? भनेर ” वादी ” हरुले प्रश्न गर्नु अनुचित देखिदैन।
राप्रपा अधक्ष ” राजेन्द्र लिङ्ग्देन ” लाइ घेर्ने रणनीति पार्टीमा बनिरहेको कुराको खुलाशा राप्रपाकै नेताहरु गर्ने गर्छन् भने लिङ्ग्देनले अरुको भनाई नटेरेको भन्दै राप्रपाकै मान्छे हल्ला गर्ने गर्नुले स्पस्ट हुन्छ राप्रपाको पनि अवस्था त्यति राम्रो छैन। तर राप्रपाले उठाएको ” नविन सम्झौता ” मा दलहरु आकर्षित भए भने बेग्लै कुरा , आन्दोलनको ल्याकत र तागत त हामीले धेरैपटक देखिसकेका छौं।
यदि आन्दोलन हुन लागिहाले पनि त्यो आन्दोलन सेलाउन प्रयोग हुने शक्ति यहि “वादी ” हरु भित्र नै लुकेर बसेका छन् जो निर्णायक क्षणमा प्रकट भई आफ्नो उद्देश्य पूरा गर्ने गर्छन्।
यिनै आफैं अलमलिएका र रुमल्लिएका नेतृत्वका बिचमा कोहि ” हेमबिक्रम सिलवाल ” तथा ” प्रकाश ” जसरि बिलाएर जाने निश्चित छ भने कसैले यसैको नाम जपी–जपी आर्थिक , पदिय लाभ लिने पनि निश्चित नै छ। कसैलाई केहि चाहिएकै छैन मात्र आफ्नो उमेर बिताउनु छ र राति यु–ट्युबमा भ्युज कति आयो ? भन्दै आत्मरतिमा रमाउनु छ। कसैले मन्त्रिमण्डल नै तयार गर्छन् त कोहिले मन्त्रि बन्नको लागि दौरा सुरुवाल सिलाई तयार राखेका छन् ।
अनि यिनैका तमाशा हेरेर बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भने आफ्नै घेरा देखेर हैरान छन्। सरकार सबै ठिक छ भन्ने सूचना दिई दरबार कमजोर बनाउनेहरु अहिले पनि दरबारमा तिनै हावी छन्। नयाँले केहि गर्लान् भनि आश गरिएका राजाको हात समातेर हिंड्ने पात्रहरु राजाको सवारीको नाममा ब्यापारीसंग ” एक बोतल रेड लेवल ” समेत माग्न र नदिएपछि थुतेर लिन पछि पर्दैनन् भने यी स्वार्थि समूहबाट घेरिएका पूर्वराजा जो यी सबैबाट ” बेखबर ” पक्कै छैनन्। उनले अब आफ्नो घेराबाट थप के आशा गर्न सक्छन् ? फेरी पूर्वराजाकै घेराले आफ्नो अलग–अलग सेना र संघठन अनि अभियान बनाई एक अर्कालाई ” चेक एण्ड ट्रायल ” गर्न खोज्दा उल्टै ” काउन्टर ” भएको सप्रमाण त पूर्वराजासंगै पनि पक्कै होला।
यतिखेर पूर्वराजालाई ” वादी ” भन्दा बरु ” वादीका दुश्मन ” को भरोसा होला तर ” वादी ” तथा ” वादीका नेतृत्व ” सुध्रिने वा बलियो भएर आउने छाँटकाँट उनले पनि देखिरहेका छैनन्।
त्यहिँमाथि न त राजा हटाएको नेपाली शक्तिले हो न त फर्काईदिने नै नेपाली शक्तिले हो भन्नेकुरा पूर्वराजाले मज्जाले बुझेका छन्। त्यसैले होला उनले पनि ” जनताको नासो जनतालाई ” भनिए पनि ” जनताको नासो नेतालाई ” बुझाईदिए र आज यतिखेर देशबाट राजसंस्था समाप्त भएको अवस्था छ । उनको पनि प्रयास त्यहि विदेशी शक्ति रिझाउने तर्फ नै केन्द्रित छ तर देश विरुद्ध सम्झौता गरेर उनि राजा बन्न चाहँदैनन्। त्यो चाहिँ पक्का हो।
अमेरिकाले ढुक्क भएर मुस्ताङ्गसम्म गतिविधि गर्न पाएकै छ। चीनले इण्डियाको सीमामा पुगेर आफ्नो एयरपोर्ट राख्दै झण्डा गाड्न पाएकै छ। इण्डियाले सिमा मिच्न र जलश्रोत , एयरपोर्ट , सुरक्षा संयन्त्र कब्जा गर्न पाएकै छ। राजा नै आएर पो यो भन्दा बढि अधिकार के नै पाइन्छ र ? त्यसैले अन्तराष्ट्रिय समर्थन पूर्वराजालाई छैन र हुने कुरा पनि भएन। बरु विदेशी शक्ति त यहि अवस्थालाई चर्काएर ” वादी ” तथा ” विपक्षी वादी ” बीच द्वन्द चर्काई देशलाई अझै अस्थिर बनाउन र कब्जा गर्न चाहन्छ।
यहि कुराको भेउ पूर्वराजाले पाईसकेका कारण पूर्वराजा पनि यतिखेर गम्भीर र चिन्तित देखिन्छन्। साथै बेला –बेलामा आईरहने पूर्वयुवराजका समाचार , मिडिया प्रहार तथा गणतन्त्रका नेताहरुबाट गरिने प्रहारले पनि उनलाई थप तनाव दिनेगर्छ। उनलाई साथ दिने मिडिया , नेता , अभियन्ता वा विदेशी शक्ति कोहिपनि लोक रिझाउने क्षमता भएका देखिदैनन । लोक नरिझाई राजसंस्था फर्किदै फर्किदैन।
यस्तो अवस्थालाई हेर्दा अब तपाइँलाई के लाग्छ ? ” वादी ” हरुका भिडमा हराएका पूर्वराजा कसरी देशमा पुन : विराजमान हुन सम्भव छ ? या सम्भव छैन ? आफ्नो विचार राख्न सक्नुहुनेछ।