FLASH NEWS

फिफा विश्वकप छनोट: नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार १८:३३ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं । विश्वकप छनोटमा बहराइनसँग नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।


फिफा विश्वकप २०२६ अन्तर्गतको एसिया छनोटमा नेपालले बहराइविरुद्धको आफ्नो होम म्याच समेत अर्को देशमा खेल्नु पर्ने भएको हो।

नेपालले बहराइनविरुद्ध चैत ८ मा घरेलु मैदानमा खेल्ने तय थियो। यो खेलपछि चैत १४ मा नेपालले बहराइनविरुद्ध उसैको मैदानमा खेल्नेछ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि नेपालको खेल अर्कै देशमा हुने अखिल नेपाल फुटबल संघले जनाएको छ।

दशरथ रंगशालामा यसअघि रग्बी प्रतियोगिता र विभिन्न स्कुलका कार्यक्रम भएका थिए। अहिले केपी ओली कप भइरहेको छ।

जसका कारण मैदानको अवस्था खराब भएको छ। एन्फाले एसियाली फुटबल महासंघका प्रतिनिधिले मैदानको निरिक्षण गरेको र त्यसमा सन्तुष्ट नभएको जनाएको छ।

अब अर्को भेन्यू छिट्टै घोषणा गर्ने एन्फाले जनाएको छ।