FLASH NEWS

राष्ट्रिय सभाका अध्यक्ष सहित २० सदस्यको पदावधि आजदेखि सकिँदै


नेपाल आवाज २० फाल्गुन २०८०, आईतवार १०:४९ मा प्रकाशित ५४७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आजदेखि सकिँदैछ ।


आज पदावधि सकिनेमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादव पनि रहेका छन् । सांसद पदबाट हटेसँगै राज्यमन्त्री पद रिक्त हुन लागेको हो ।

मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिँदैछ ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा चुनाव भैसकेको छ । ती सांसदहरूको भोलि शपथग्रहण हुनेछ । बाँकी एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ मा गर्ने तयारी छ ।