FLASH NEWS

शालिन मृत्यु प्रकरणमा अजिरकोट गाउँपालिकाले भन्यो–घटनालाई अतिरञ्जित नगरौँ


नेपाल आवाज २० फाल्गुन २०८०, आईतवार १५:०९ मा प्रकाशित १०४५ पाठक संख्या

काठमाडौँ – शालिन पोखरेलको मृत्यु सम्बन्धी घटनामा गोरखाको अजरिकोट गाउँपालिकाले अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सवैमा अपिल गरेको छ ।


आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले  उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको हो । साथै यो गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

अजिरकोट गाउँपालिका स्थायी ठेगाना भएकी १४ वर्षीय बालिका शालिन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ ।  त्रिवि शिक्षण अस्पतालले शालिनको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् ।

उता,बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ । शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार, थप अनुसन्धान आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ ।

घटनापछि चितवन पुगेका शालिनका बाबु दीपेन्द्र पोखरेलले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।

उनीहरु तीनै जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको थियो ।