FLASH NEWS

अबको २-२ वर्ष प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री


नेपाल आवाज २२ फाल्गुन २०८०, मंगलवार ०९:०७ मा प्रकाशित १५६१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेसँगै पुरानो गठबन्धन विभाजन भएको छ भने नयाँ गठबन्धन निर्माण भएको छ ।


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सहितको नयाँ गठबन्धन निर्माण भएको छ । यो गठबन्धनमा अन्य दललाई समेत सहभागी गराउने प्रयास प्रधानमन्त्री प्रचण्डले जारी राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतलाई नयाँ गठबन्धनमा सहभागी गराउने प्रयासमा प्रचण्ड रहेका छन् । यसअघि रहेको माओवादी, नेपाली कांग्रेससहितको पुरानो गठबन्धन विभाजन भएको छ ।

पहिलो चरणमा माओवादी केन्द्र, एमाले र रास्वपाका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेताले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाएका छन् ।

एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपा उपाध्यक्ष डीपी अर्याल मन्त्रीको शपथ सोमबार लिएका छन् । नवनियुक्त तीनै जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

मन्त्रीहरूको शपथअघि प्रधानमन्त्री निवास बालुवाटार नयाँ सत्तारूढ गठबन्धनको बैठक बसेको थियो । सोमबार यी दलको छुट्टाछुट्टै बैठक बस्दै नयाँ गठबन्धन बनाउने निर्णय गरेका थिए ।बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताको सहभागिता रहेको थियो । बालुवाटार स्रोतका अनुसार अब दुई वर्ष प्रचण्ड र त्यसपछि दुई वर्ष ओली प्रधानमन्त्री हुने आन्तरिक सहमति भएको छ ।