FLASH NEWS

प्रधानमन्त्री ‘प्रचण्ड’ले तोके १७ मन्त्रीहरुको मन्त्रालय, कुन पार्टीबाट को भए मन्त्री ?


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार १६:३६ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।


सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा आज प्रधानमन्त्री प्रचण्डले १४ जना मन्त्री थप गरेका हुन्।

उनीहरुको कार्य विभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।

१४ जना मन्त्रीको आजै अपराह्न ५ बजे शपथ हुने तय भएको स्रोतले जनाएको छ ।नेकपा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन ।

यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ ।

जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् । यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । रेखा पुन: सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दोहीरिन सफल भएकी छन् ।

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ ।