FLASH NEWS

घ्युको वट्टामा लुकाएर ल्याएको चरेशसहित धादिङको मलेखुबाट दुई जना पक्राउ


नेपाल आवाज २७ फाल्गुन २०८०, आईतवार २१:११ मा प्रकाशित १०२१ पाठक संख्या

मलेखु – घ्युको वट्टामा लुकाई छिपाई लिएर हिँडेको अवैध लागुऔषध चरेश प्रहरीले बरामद गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट चार किलो पाँच सय ३५ ग्राम चरेश प्रहरीले बरामद गरेको हो ।


गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखु तर्फ हिडेको बागमती प्रदेश ०२–०३० प ७०२५ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुको साथबाट चरेश सहित नगद ३० हजार पनि बरामद गरिएको जैसवारले बताए ।

‘अवैध लागुऔषद बोकेको हुनसक्ने शंका भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गर्‍यो । मलेखु पुगेपछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो झोलाभित्र तीन वटा घ्युको वट्टामा चरेश लुकाएर ल्याएको भेटियो’, जैसवारले भने–‘दुई जना व्यक्तिलाई मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीको लागि ल्याएका छौं ।’