FLASH NEWS

पर्साको ग्रामीण भेगमा आतङ्क मचाउने बाघ नियन्त्रणमा


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार ०७:४० मा प्रकाशित ३२८३ पाठक संख्या

बिरगञ्ज । पर्साको जिल्लाको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।


विगत  एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजाे दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।

बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला बन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो ।

बाघको आक्रमणबाट  सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।