FLASH NEWS

कृष्णबहादुर महरालाई पक्राउ गर्न गृहमन्त्री रविलाई बाटो खुल्यो,पर्लान त पक्राउ ?


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १३:२० मा प्रकाशित ५३२९ पाठक संख्या

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्ने संकेत छ। उनको अडियो समेत सार्वजनिक भएपछि उनि झनै अप्ठेरोमा परेका हुन्। उनीविरुद्ध यतिखेर मुद्दा चलाउन सिफारीस गरिएको छ। अब उनलाई कारवाही गर्ने काम गृह मन्त्रालय र गृहमन्त्री रवि लामिछानेको हो।


सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको हो जुन प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाईसकिएको छ । सिआइबीले इलेक्ट्रिक चुरोट (भेप)मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो। यो संगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको भन्नेकुरा गृहमन्त्रालयले उल्लेख गरेको हो।

महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। उनका छोरा राहुल महरालाई पक्राउ गरी मुद्दा चलाईएको थियो।

महरा बाबुछोरा दुवैको सम्पर्क सिधै सुनतस्कर दाओजिन वाङसँग पटकपटक भएको अनुसन्धानमा देखिएको विषय हो। सबै कुरा स्पस्ट देखिएपनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा कुनै सोधपुछ नगरी मुद्दाको प्रतिवेदन बुझाएको थियो। ब्यापक दवाबपछि दोस्रो चरणको अनुसन्धानमा भने राहुललाई पक्राउ गरेको थियो।

यस्तो भएको थियो। 

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप (विद्युतीय चुरोट) लिएर आउँदै गर्दा एक्सरेमा भेप देखिएपछि भन्सारका कर्मचारीले व्यापारिक मालवस्तु हुन सक्ने र भन्सार राजश्व असुल गर्नुपर्ने भनेर रोके। उनको लगेजमा ७३ बट्टामा ७३० गोटा भेप थिए। यति ठूलो परिणाममा भेप ल्याएको थाहा पाएर प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले कर्मचारीलाई सबै भेप जफत गर्न आदेश दिए। त्यसपछि एउटा भेप चिनियाँ नागरिक हानसङलाई दिएर बाँकी भेप भने प्रशाशनले जफत गरिदियो।

उक्त भेपमा के छ ? भन्ने थाहा पाएर नभई व्यापारिक ‍प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गरिएको थियो। उक्त भेपमा के छ भन्ने कुरा खोलेर वा फुटाएर हेरिएको थिएन ।  पुस १० गतेदेखि प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको भेपबारे जफत भएको केही दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले अधिकृत श्रेष्ठलाई भेटेर भेपको तोकिएको राजस्व बुझेर जाँच पास गरिदिन अनुरोध गरे। श्रेष्ठले त्यसको जाँचपास नहुने भनेर फर्काईदिए।  श्रेष्ठलाई भेटेको भोलिपल्ट श्यामसुन्दर साह भन्ने व्यक्तिले पनि श्रेष्ठसँग भेटे। त्यो भेप जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याइएकाले राजश्व दाखिल गरी जाँचपास गर्न उनले अनुरोध गरे। श्रेष्ठले उनले गरेको अनुरोध पनि मानेनन्।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख  कृष्णबहादुर महराका छोरा राहुल महराले पनि आफूलाई फोन गरी उक्त भेपको लिलामी प्रक्रियाबारे बुझेको कुरा श्रेष्ठले प्रहरीलाई बताएका छन्। यही सुन ल्याउने व्यक्तिहरूको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा लगायतसँग समेत भएको सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा पनि उल्लेख छ। सिआइबीले यो घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसंग सम्पर्क भएको थियो भनेर एउटा चार्ट बनाएको छ। उक्त चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग भएको देखिन्छ भने उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ।

यसअघि पनि महरा चिनियाँसँगको सम्बन्धका कारण विवादमा आएका थिए। २०६७ सालमा एक जना चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको उनको अडिओ टेप नै सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको चुनावमा सांसदहरूलाई मिलाउनका लागि उक्त रकम चाहिएको उनले टेपमा बताएका थिए।

लगेजमा भेप भेटिएका चिनियाँ नागरिक त्यही बेला नै केही दिन नेपाल बसेर अहिले विदेश गइसकेका छन्। महराका छोरा राहुल पुर्पुक्षका लागि थुनामा रहेपनि सत्ता र शक्तिको आडमा महराका बुवा-छोरालाई उन्मुक्ति दिने प्रयास हुनसक्छ भन्नेमा सबैजना सचेत हुन जरुरि छ।