FLASH NEWS

मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार ११:०२ मा प्रकाशित ३२५ पाठक संख्या

उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्।


उनी राजनीतिमा २२ वर्षदेखि सक्रिय छन्। यसकारण उनी राजनीतिज्ञ पनि हुन्। उनले १० वर्षजति कलाकारिता क्षेत्रमा बिताए। त्यसैले उनी फिल्मकर्मी पनि हुन्। तीन वर्षयता अचार उद्योग खोलेर लोकप्रियता हासिल गरिरहेका छन्। अहिलेको परिचय – उद्योगी हो।

निकट भविष्यमा उनी मसला उद्योग खोल्दैछन् – त्यहाँ बन्ने परिचय अर्को छँदैछ। ५९ वर्षीय दाहाल आफूलाई होटल व्यवसायीको रूपमा चिनाउन चाहन्छन्। किनभने, उनको यो नै जीवनको सुरूवाती व्यवसाय थियो र यही पेशाबाट अरू परिचयहरू बन्दै गए। दाहाल भन्छन्, ‘मेरो होटल व्यवसायी बन्ने चाहना थिएन, तर परिस्थितिले होटल व्यवसायमा डोर्‍यायो।’

खासमा उनी बलिउडका सफल अभिनेता अमिताभ बच्चनजस्तै कलाकार बन्न चाहन्थे। यो २०४५/४६ सालतिरको कुरा थियो। जतिबेला उनी दमकमा क्याम्पस पढ्थे।उनको पुरानो घर दमक नगरपालिका-३ ढुकुरपानी हो। क्याम्पसे जीवनमा उनी जासुसीका किताब र उपन्यासहरू पढ्थे। गोजीमा पैसा हुनासाथ उनी फिल्म हलमा पुगिहाल्थे। ‘फिल्म त कति हेरियो, हेरियो, तर त्यसबेलाको समय र आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण अभिनेता बन्न सकिएन,’ उनी भन्छन्।

२०६२/६३ ताका उर्लाबारीमा कञ्चनजंघा होटल चलाइरहेका थिए। सिक्किमबाट फर्केपछि फिरन्ते जीवन के बिताउनु भनेर उनले होटल खोले। उनको होटलको विशेषता मीठो खानाको बन्यो। उर्लाबारीमा जहाँ-जहाँ कार्यक्रमहरू हुन्थे, उनको होटलमा खानाको अर्डर अघिल्लो दिन नै पुग्थ्यो।

मिठो खानाले कहलिएको कञ्चनजंघा होटलमा खाना खाने सिलसिलमा फिल्मकर्मीहरू आउन थाले। सुटिङ स्पट खोज्दै, सुटिङ गर्ने कलाकारहरू कञ्चनजंघा होटलमा पुग्न थाले। खाना त्यहीँ खाने, गेष्ट हाउसमा बस्ने गर्न थाले।

लक्ष्य हुँदाहुँदै फिल्मकर्मी बन्न नपाएको कुरा दाहालले उनीहरूलाई सुनाउँथे। उनीहरूले दाहाललाई फिल्म खेल्ने अवसर दिन थाले। करिब १० वर्ष उनले आफ्नो पेशा होटल व्यवसायसँगै नेपाली फिल्ममा अभिनय गरे। साना-ठूला फिल्म खेलेर मिसन नेपाल, बरदान, जन्जिरलगायत २५ वटाजति फिल्म खेले। उनले नेगेटिभ क्यारेक्टरदेखि डाक्टर र बुवासम्मको भूमिकामा फिल्म खेले।

‘कलाकारिता क्षेत्र सोचेजस्तो रहेन छ, यहाँ कमाई हुने कुरा त परै जाओस्, तलबसमेत नपाइने रहेछ,’ उनले भने, ‘यो क्षेत्र चटक्कै छोडेर म पुरानै पेशा (होटल व्यवसाय)मा एकाग्र भएँ।’

होटल चलाउँदै गर्दा कोरोना महामारी सुरू भयो। २०७६ सालमा यो महामारीले सबैतिरको व्यवसाय चौपट्ट भयो। होटल झनै चौपट्ट। त्यसपछि उनले अचार बनाउन थाले।अचार उनको पेशा होटल व्यवसायसँग मिल्दोजुल्दो थियो। अहिले उनले आरएमडी लघु उद्योग (अचार तथा मसला उत्पादन) चलाइरहेका छन्।

अचार उद्योग चलाउने कला उनले सिक्किममा सिकेका थिए। उनी ३० वर्षपहिले काम खोज्दै सिक्किम पुगेका थिए। त्यहाँ उनले सुरूमा अन्यत्रै काम गरे। पछि माछा, मासु र अण्डाको पसल खोले। उनले सिक्किममा आठ वर्ष बिताएका थिए।

जब माछा, मासु र अण्डाको पसल खोले। सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी थिए। भान्छे नियमित सामान किन्न आउँथे। भण्डारीको किचनमा दाहालको पसलका माछा, मासु र अण्डा पुग्न थाल्यो।खाना खाँदा भण्डारीले सामान कहाँबाट ल्याएको भनेर सोधेछन्। भान्छेहरूले गर्नेहरूले दाहालको पसल चिनाइदिएछन्। यसपछि भण्डारीको नजरमा दाहाल परे।सिक्किम सरकारले एकपटक अचार बनाउने तालिम सञ्चालन गर्‍यो। उनले सिक्किम सरकारको सरकारी कोटामा ९ महिना अचार बनाउने तालिमको अवसर पाएका थिए।

त्यो सिप कोरोना महामारीको बेला काम लाग्यो। होटल व्यवसाय चौपट्ट भएको बेला अचार बनाउन थाले। लकडाउन खुकुलो भएका बखत उनले कञ्चनजंघा होटलमा ग्राहकलाई चखाउन थाले। सबैजसोले स्वाद चाखेर हौस्याइदिए। त्यसपछि उनले आरएमडी अचार उद्योग स्थापना गरेर अहिले कोसी प्रदेशभरि पुर्‍याइरहेका छन्। उनको उद्योगमा १५ थरीका अचार बन्छन्।

‘सुरूमा काउन्टर सेल गर्थें, खाद्य परीक्षणपछि सिलप्याक गरेर बेच्न थालें,’ उनले भने, ‘कोसी प्रदेशका ठूला डिपार्टमेन्ट स्टोर र मार्टहरूमा मेरो उद्योगको अचार जान्छ।’पूर्वमा चलेको गोरखा डिपार्टमेन्टका सबै शाखाहरूमा दाहालको उद्योगको अचार पुगेको छ। निकट भविष्यमा भाटभटेनीका शाखाहरूमा पठाउने योजना रहेको दाहालले सुनाए।

‘कोसी प्रदेशमा भागभटेनीका पाँच वटा शाखा छन्, ती सबैमा अचार पठाउनका लागि कुरा भइसकेको छ,’ दाहालले भने।अचार सिजनेबल छ। जहिले जे बजारमा आउँछ, उनी तिनै सामग्रीबाट अचार बनाउँछन्।उनको उद्योगमा अकबरे दाना, अकबरे तामा, अकबरे टिमुर, कागती, लप्सी, तामा, मेथी, मिक्स, आँप, अदुवा, लसुन, सिम्ला, च्याउ, मासु, गाजर, चुकन्दरलगायतको अचार बन्छ।

‘सुरूमा चखाउँछु, सबैले मिठो भनेर प्रतिक्रियासँगै किनेर लैजान्छन्,’ दाहालले भने, ‘आरएमडी अचारले अहिले पूर्वभरि प्रसिद्धी कमाएको छ।’उद्योगमा ६ जनासम्मले रोजगारी पाएका छन्। उनी आफैं र उनकी श्रीमती राधिकादेवी खटिन्छन्।अचार उद्योगको नाम उनले आरएमडी किन राखे? यसपछाडि कारण छन्। ‘आर’ उनका बुवा रामचन्द्र, ‘एम’ आमा मनमाया र ‘दाहाल’ उनको थर मिलेर ‘आरएमडी’ बन्यो।

संयोग, ‘आरएमडी’ दाहालका सबै परिवारसँग मिल्यो। ‘आर’ श्रीमती राधिकादेवी, छोरी रमा, छोरा रमेश र रन्जित, ‘एम’ मनोहरि। ‘दाहाल त थर भइहाल्यो,’ मनोहरि मुसुक्क हाँसे। मनोहरिको भोगाइमा अचार उद्योग चलाउन धेरै गाह्रो छैन, तर सजिलो पनि रहेनछ। बजारबाट सबैथोक सामान जुटाउन पर्‍यो। अकबरे खुर्सानी उनी पाँचथरको राँकेबाट ल्याउँछन्।

आठ-दस वटा मेसिन चाहिन्छन्। ती मेसिनको अभावमा उनले हातैले अचार बनाइरहेका छन्। ‘हातले काट्नेदेखि लिएर मोल्ने, मसला पिस्ने सबै काम गर्नुपर्छ,’ दाहालले भने, ‘अकबरे खुर्सानीको अचार बनाउँदा रागले छिमेकी रिसाउँछन्, हात पोलेर हैरान भइन्छ।’ काट्ने, मसला पिस्ने, मसला मोल्ने, बट्टामा हाल्ने, लेबलिङ गर्ने सबै मेसिन पाइन्छन्। ‘सबै मेसिन खरिद गर्न बजेट छैन, स्थानीय पालिकादेखि प्रदेश सरकारमा गएँ, अनुदानमा पाऊँ भनेर अनुरोध गरें,’ दाहालले भने, ‘बजेट छैन भन्छन्। त्यसैले, दु:खैले अचार बनाएर पठाइरहेको छु।’

उनले आफ्नै होटलको एउटा कोठामा अचार उद्योग राखेका छन्। उक्त कोठा साँघुरो भएकाले होटलको तल्लो फ्ल्याट खाली गरेर सार्ने चाँजो मिलाउँदैछन्। ‘निकट भविष्यमा म मसला उद्योग स्थापना गर्छु,’ उनले सुनाए, ‘अचारबाट कति आम्दानी हुन्छ, अहिले लेखाजोखा सुरू गरेको छैन, क्षमता विस्तारमा ध्यान दिइरहेको छु।’

उनको उद्योगमा भएको मिक्स अचार सबैले मन पराएका छन्। अचार परिमाणअनुसार डेढ सयदेखि ६ सय रुपैयाँसम्म बट्टामा उपलब्ध छ। ‘मैले सोचेको भन्दा राम्रो बिकिरहेको छ, सरकारबाट अनुदान पाएँ भने अझै राम्रो बनाउन सक्छु भन्ने लागेको हो,’ उनले भने।दाहालले होटल व्यवसाय चलाएर छोराछोरी पढाए। छोरीको बिहे भयो। कान्छो छोरा र बुहारी अष्ट्रेलियामा छन्। युरोपियन मुलुक जान भनी जेठा छोरा-बुहारी प्रोसेसका लागि दुबई पुगेर बसेका छन्। उनी श्रीमती राधिकादेवीसँग होटल व्यवसायसँगै उद्योग खोलेर देशमै रमाइरहेका छन्।‘छोराछोरीले नेपालमा भविष्य देखिएन भनेर लाखापाखा लागे, म चाहिँ नेपालमै केही गर्छु भन्ने आत्मविश्वास लिएर नंग्रा खियाइरहेको छु,’ दाहालले भने।

होटलमा काम गर्ने स्टाफ खासै छैनन्। उनको होटलमा खाना मिठो पाइने गरेकाले धेरै त्यही चल्छ। त्यसका लागि धेरै स्टाफ पनि नचाहिने र आफैं बढी खट्ने गरेकाले अचार उद्योगको क्षमता विस्तारमा उनी लागेका छन्। कलाकारितामा भविष्य नदेखेका मनोहरिले राजनीतिमा भविष्य खोज्ने कोसिस गरे। सुरूमा उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा थिए। २२ वर्षमा माओवादी चोइटिएर फरक विचारधाराका धेरै दल बने।

१० वर्ष युद्ध लडेको माओवादीमा बिरक्तिएका डा. बाबुराम भट्टराईले अलग पार्टी (नयाँ शक्ति) स्थापना गरे। मनोहरि त्यतै लागे। पछि मधेसवादी दलहरूसँग मिलेर बाबुरामले अर्कै पार्टी बनाए। मनोहरिले बाबुरामलाई छोडिदिए। उनी अहिले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा छन्। यहाँ उनी कोसी प्रदेश कमिटी सदस्य छन्। यी सबै परिचयमा खुल्लमखुला र ठाडो नजरले सबैसँग मुकाबिला गर्ने क्षमता दाहाल राख्छन्। अहिले कलाकारिताबाहेक अरू सबै पेशा-व्यवसाय सम्हाल्न भ्याइरहेका छन्। मेरो सुरूवाती व्यवसाय होटल भएकाले म होटल व्यवसायीकै रूपमा चिनिन चाहन्छु,’ कुराकानी बिट मार्दैगर्दा दाहालले भने।