FLASH NEWS

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १७:२४ मा प्रकाशित ७९९ पाठक संख्या

रुपन्देही – सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


जिल्ला अदालत रुपन्देहीले सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।

पुनमाथि बुटवलको सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । पोखराको सूर्यदर्शनदेखि सुप्रिम सहकारी र अरु ४ वटा सहकारीका अध्यक्ष जीबी राई फरार छन् ।

यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।