FLASH NEWS

‘गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल’: लिङ्देन


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २०:२१ मा प्रकाशित ७५१ पाठक संख्या

सर्लाही – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन् । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकाको सवालमा प्रमुख भनिने राजनीतिक दलहरु पूर्णतः असफल भएकाले राप्रपा विकल्प सहित जनताको माझमा आएको उनले बताए ।


राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागका बारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न आज सर्लाहीको बरहथवामा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो भनाइ राखेका हुन् । गएको १५ वर्षमा गणतन्त्र आएपछि मात्रै मधेश केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेशका जनताको लागि काम गर्न नसकेको आरोप उनको थियो ।

अध्यक्ष लिङ्देनले मधेशले प्रधानमन्त्रीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, महत्वपूर्ण मन्त्रालय प्राप्त परिसक्दा पनि मधेशका जनताको पक्षमा, मधेशी जनताको जीवनस्तर सुधार गर्ने दिशामा कुनै काम हुन नसकेको उल्लेख गरे ।

उनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक नेपाली जनताको भरोसा अरू कुनै राजनीतिक शक्ति छैन । अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन् । गलत साबित भइसकेका छन् ।’

‘मेरा शुभेच्छुक र पार्टीका साथीहरुले मलाई सुझाव दिएका छन्, ‘राजेन्द्र, मधेशमा गएर संघीयताको विरोध नगर्नु है’ । आज म तपाईंहरूलाई सोध्न चाहन्छु- संघीयताले तपाईंलाई के दियो ? संघीयता लागू भएपछि तपाईंको जीवनस्तर परिवर्तन भएको छ ? संघीयताले मधेश सुदृढ भएको छ ? संघमा ५० जना र प्रदेशमा त्यति नै हाराहारीमा मन्त्री पाउने बाहेक संघीयताले मधेशलाई केही दिएन, हामी यो कुरा बुझाउन पनि मधेश झरेका हौं,’ अध्यक्ष लिङ्देनले भने ।

राप्रपाले आजदेखि चार दिन आठ जिल्लाको कार्यक्रम लिएर तराई मधेश क्षेत्रमा आमसभा, कार्यकर्ता भेला र काठमाडौं केन्द्रीत जनप्रदर्शन गर्नुपर्ने आवश्यकता र औचित्य प्रष्ट्याउन जनजागरणका विभिन्न कार्यक्रम तय गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको साथमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, महामन्त्री प्रल्हाद साह, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, बागमती प्रदेशका सांसद कुमारी स्याङतान, नेतृ खुस्बु ओलीलगायत छन् ।

राप्रपाले आज बिहान जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मधेश प्रदेश यात्रा प्रारम्भ गर्रेको छ । राप्रपाले आज नै धनुषामा अगुवा कार्यकर्ता भेलासमेत गरेको छ ।