FLASH NEWS

सीडीओ कार्यालयहरुलाई गृहको निर्देशन – मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना गर्नू


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार १०:३४ मा प्रकाशित ६०१ पाठक संख्या

काठमाडौं – गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।


त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ ।

साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।